साङ्केतिक तस्वीर


काठमाडौं — साताको अन्तिम कारोवार दिन आज शुक्रबार पनि नेप्से परिसूचक घटेको छ । यो साता सेयर बजार परिसूचक नेप्से ११२ अङ्क माथिले घटेर २ हजार ७० अङ्कको विन्दुमा झरेको छ । अघिल्लो साताको अन्तिम कारोवार दिन अर्थात् माघ २९ गते १२ दशमलव ४५ अङ्कले बढ्दै २१ सय ८२ दशमलव ६४ अङ्कमा उक्लिएको नेप्से सूचक यस साताको अन्तिम कारोबार दिन माघ ४ गते, बिहीबारसम्ममा ११२ दशमलव २३ अङ्कले घट्दै २ हजार ७० दशमलव ४१ अङ्कको विन्दुमा रोकिन पुगेको हो ।

अघिल्लो साता नेपाल राष्ट बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, त्यस लगत्तै भएको बजेटको अर्धवार्षिक समीक्षाले समेत बजारलाई प्रोत्साहन गर्न नसकेपछि सेयर बजारमा निरन्तर गिरावट आएको हो ।

खासगरी मौद्रिक नीति र बजेटको अर्धवार्षिक समीक्षाले बैंक ब्याजदर, सेयर धितोकर्जाको सीमा खारेजीलगाएको माग सम्बोधन गर्नेमा धितोपत्र लगानीकर्ताहरुको अपेक्षा थियो । तर, राष्ट्र बैंकको मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको सेयर बजारलाई सरकारको बजेटको अर्धवार्षिक समीक्षाले समेत सकारात्मक सन्देश दिन नसकेपछि सेयर बजार घट्न पुगेको छ ।

थप मौद्रिक नीतिपछि बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको राष्ट्र बैंकले सेयर धितो (मार्जिन लेनिडङ) सम्बन्धी कर्जालाई पुनरतालिकीकरण र पुनरसंरचना समेत गर्न रोकिदिएपछि लगानीकर्ताहरु थप सशंकित हुन पुगेका छन् ।

नेप्से घटेसँगै कारोवार रकम पनि घट्न पुग्यो

यस साता नेप्से सूचक ११२ अङ्कले घटिरहँदा कारोवार रकम समेत ८ अर्ब रुपैयाँमा खुम्चिन पुगेको छ । अघिल्लो साता १२ अर्ब रुपैयाँ माथिको कारोवार भएकोमा यस साता मुस्किलले ८ अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोवार भएको छ ।

यद्यपि, यस साता ४ दिन मात्र बजार खुलेको थियो । फागुन १ गते सोमबार जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै पहिलो कारोबार दिन, आइतबार सेयर बजार बन्द हुन पुगेको थियो ।

अन्य चार दिन खुलेको बजारमा सोमबार ६० दशमलव ७७ अङ्कले नेप्से सूचक घट्दा ३ अर्ब ३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यस्तै, दोस्रो दिन मङ्गलबार नेप्से १६ अङ्कले घट्दा १ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको थियो भने तेस्रो र चौंथो दिन क्रमशः १३ दशमलव ९० अङ्क र २१ दशमलव १५ अङ्कले नेप्से घट्दा १ अर्ब ६९ करोड ११ लाख रुपैयाँ र १ अर्ब ६५ करोड ९५ लाख रुपैयाँको सेयर कारोवार भएको थियो । यस साता चार दिन खुलेको सेयर बजारमा चारै दिन नेप्से घट्न पुगेको छ ।