प्रतिकात्मक तस्वीर
मोरङ — मोरङको सुन्दरहरैँचा–१० निवासी वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको भोलिपल्ट बुधबार ७९ वर्षको उमेरमा पत्नी शिवमाया बुढाथोकीको निधन भएको हो ।
पदमबहादुरको शवयात्रा बेलबारीको लोहान्द्रा खोलामा पुगेर अन्तिम दाहसंस्कारका लागि तयारी गर्दा बेहोस भएर श्रीमती शिवमायाको निधन भएको स्थानीय शिक्षासेवी अर्जुन बस्नेतले जानकारी दिए । उनले बुढाथोकी दम्पतीको एउटै समय तथा एकै चिता र घाटमा अन्त्येष्टि गरिएको बताए ।
विवाह गर्दा सँगै मर्ने तथा सँगै बाँच्ने वाचा–कसम खाएका श्रीमान् –श्रीमतीमा यस्तो निधनको संयोग विरलै मात्र हुने स्थानीयले बताएका छन् । रासस