साङ्केतिक तस्वीर

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको ४ कारोवारमा नेप्से परिसूचक ११२ दशमलव २२ अङ्कले घटेको छ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१ दशमलव १५ अङ्कले घटेर २०७० दशमलव ४१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३ दशमलव ७० अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ४९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ३७ अङ्कले घटेको छ ।

बिहीवार कारोबारमा आएका २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता सेयर १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधवारको तुलनामा बिहीवार नेप्से कारोबार रकम पनि गिरावट आएको छ। बुधवार १ अर्ब ७३ करोडको सेयर खरिदबिक्री भएको थियो।

बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ दशमलव ९३ प्रतिशत घटेको छ।

त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ। बिहीवार नेप्से परिसूचकमा गिरावट आए पनि सानिमा लार्ज क्याप फण्डको इकाइमूल्य ७ दशमलव ६५ प्रतिशत बढेको छ।

त्यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य ५ दशमलव २३ प्रतिशत बढेको छ। तर यता, युनिलिभर नेपालको सेयरमूल्य ५ दशमलव ९१ प्रतिशत घटेको छ। बिहीवारको कारोबारमा हिमालयन डिस्टिलरी कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।