फाइल तस्वीर
काठमाडौं — नेपाली काङ्ग्रेसका नेता एवम् सांसद् डा. चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लगिएको छ । हिजो बुधबार ग्यास सिलिन्डर पड्किएर घाइते हुनुभएका सांसद भण्डारीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगिएको हो ।
सांसद् भण्डारीलाई मुम्बईको नेशनल वर्न सेन्टरमा उपचारका लागि लगिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । उहाँको उपचार टिममा चिकित्सकहरु डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) पनि सँगै जानुभएको मन्त्रालयले जनाएको छ । त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि सांसद् भण्डारीको उपचार टोलीमा संलग्न हुनुहुन्छ ।
बुधबार राती बुद्धनगरस्थित घरमा ग्यास पडकिएर घाइते भएका भण्डारीको काठमाडौं कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो । कीर्तिपुरमा उपचार सम्भव नभएपछि सांसद् डा.भण्डारीलाई मुम्बई लगिएको हो । ग्यास पड्किएर घाइते हुनुभएकाी भण्डारीकी आमा हरिकला भण्डारीको भने उपचारकै क्रममा आज बिहान निधन भएको छ । ग्यास सिलिन्डर पड्किएर सांसद भण्डारीकी आमाको ७५ प्रतिशत भाग जलेको थियो भने सांसद् भण्डारीको २५ प्रतिशत आगोले पोलेको थियो ।
काङ्ग्रेस नेता भण्डारी गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपाली काङ्ग्रेसभित्र उहाँलाई प्रखर वक्ताको रुपमा लिइन्छ ।