फाइल तस्वीर


काठमाडौं – प्रहरी प्रधान कार्यालयले तीन दिन अघि बालाजु माछापोखरीमा भएको घटनाको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालयका डिआईजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन भएको हो ।

उक्त छानविन समितिको सदस्यमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजाल रहेका छन् । डिआईजी मसाउद आलम खाँको नेतृत्वमा गठित समितिले एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मङ्गलबार माछापोखरीमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुका प्रहरी प्रमुख डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी तोडफोड गरी जलाएका थिए । ट्राफिक प्रहरीले जरिवाना बढाएको भन्दै विरोधमा उत्रिएका यातायात मजदुरहरू आन्दोलित हुँदा प्रहरीका दुईवटा गाडीमा आगजनी गरेका थिए ।

यातायात मजदुरहरूले गाडीमा आगो लगाउनुका साथै एम्बुलेन्स तोडफोड र ल्होत्से मलको एक पसलमा चोरीको घटना समेत घटेको थियो । ल्होत्से मलका पसलधनीले बताएअनुसार सो पसलबाट करिब ८ करोड बराबरको सामान चोरी हुनुको साथै यहाँ तोडफोड समेत भएको थियो । पसलमा चोरी तथा तोडफोड गरेका भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छन् । प्रहरीले गाडी जलाएको आरोपमा ६ जना र लुटपाट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।