काठमाडौं – आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । यसअघि शीर्षस्थानमा रहेको आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटी पहिलो स्थानमा उक्लन सफल भएको हो ।

पहिलो हाफमा नै अग्रता बनाउने क्रममा सिटीले आर्सनलका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउन सफल भयो । २४ औँ मिनेटमा टाकेहिरो टोमियासुले गोलरक्षकलाई दिएको खराब ब्याक पासलाई केभिन डी ब्रुएनाले नियन्त्रणमा लिँदै आकर्षक चिप गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४२औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७२औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाउन पुगे । ८२औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा हालान्डले गोल गर्दै सिटीको जित पक्का गरे । यस जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अङ्क पुगेको छ भने एक खेल कम खेलेको आर्सनलको पनि ५१ अङ्कमा सिमित छ ।