काठमाडौं — नेपाल राष्ट्र बैंकले सर्वसाधारण उपभोक्ताले आगामी तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुनेसक्ने अनुमान गरेका जनाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणमा उपभोक्ताले आगामी दिनमा अहिलेको भन्दा पनि बढी मूल्यवृद्धि हुनसक्ने अनुमान गरेको हो ।

राष्ट्र बैंकले गत पुस २४ देखि ३० गतेसम्म ६० बजार क्षेत्रका दुई हजार १० जना व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सम्पन्न गरेको उक्त सर्वेक्षणमा ८४ दशमलव ६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा १० प्रतिशत मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी ९२ दशमलव ३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

आगामी तीन महिनामा अहिलेको भन्दा उच्च मूल्यवृद्धि हुने अनुमान १८ दशमलव १ प्रतिशत, अहिलेकै दरमा मूल्यवृद्धि हुने अनुमान गर्नेको संख्या ३४ दशमलव ५ प्रतिशत र अहिलेको भन्दा मूल्यवृद्धि घट्ने अनुमान गर्ने उपभोक्ताको संख्या ३२ दशमलव १ प्रतिशत रहेको छ । यस्तै मूल्य स्थिर रहने अनुमान गर्ने उपभोक्ता १४ दशमलव ३ प्रतिशत र घट्ने अनुमान गर्ने उपभोक्ता पनि १ दशमलव १ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आगामी तीन महिनामा मूल्यवृद्धि हुने अनुमान गर्नेको संख्या असोजमा ८६ दशमलव ६ प्रतिशत र असारमा ९४ दशमलव ७ प्रतिशत रहेकोमा पुसमा घटेको छ । आगामी १ वर्षमा मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने अनुमान गर्ने सर्वसाधारण २८ दशमलव १ प्रतिशत, अहिलेकै दरमा मूल्यवृद्धि हुनसक्ने अनुमान गर्ने सर्वसाधारण ४० दशमलव १ प्रतिशत र अहिलेको भन्दा मूल्यवृद्धिदर कम हुने अनुमान गर्ने उपभोक्ता २१ दशमलव १ प्रतिशत रहको राष्ट्र बैंकले जनाएको छ । यस्तै ६ दशमलव ५ प्रतिशतले मूल्यवृद्धि स्थिर हुने र १ दशमलव १ प्रतिशतले आगामी १ वर्षमा अहिलेको भन्दा मूल्य घट्नसक्ने अनुमान गरेका छन् ।

आगमी ३ महिनामा खाद्यवस्तुको मूल्य बढ्ने अनुमान गर्ने उपभोक्ता ८८ दशमलव ९ प्रतिशत रहेका छन् । खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको राष्ट्र बैंकले जनाएको छ ।

गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ । यस्तो उत्तर दिने उपभोक्ता असोजमा ७६ दशमलव १ प्रतिशत रहेकोमा पुसमा ७४ दशमलव ५ प्रतिशत रहेका छन् ।

खाद्यवस्तुको मूल्य आगामी एक वर्षमा बढ्ने अनुमान गर्ने उपभोक्ता असोजको तुलनामा घटेका छन् भने खाद्यवस्तुको मूल्य घट्नसक्ने अनुमान गर्न उपभोक्ता केही बढेका छन् । असोजमा आागमी एक वर्षसम्म खाद्यवस्तुको मूल्य बढ्ने अनुमान गर्ने उपभोक्ता ९५ दशमलव ६ प्रतिशत रहेकोमा पुसमा ९४ दशमलव ६ प्रतिशत रहेको छ । आगामी एक वर्ष खाद्यवस्तुको मूल्य स्थिर रहने अनुमान गर्ने उपभोक्ता असोजमा ३ दशमलव ९ प्रतिशत रहेकोमा पुसमा ४ प्रतिशत र एक वर्षमा खाद्यवस्तुको मूल्य घट्ने अनुमान गर्ने उपभोक्ताको संख्या असोजमा ० दशमलव ४ प्रतिशत रहेकोमा पुसमा बढेर १ दशमलव ४ प्रतिशत पुगेको छ । खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पदार्थ तथा सुर्ती र होटल तथा रेस्टुरेन्ट बाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको हो ।

एक वर्षमा मुद्रास्फीति १२ प्रतिशत पुग्ने अनुमान

राष्ट्र बैंकको सर्वेक्षणमा आगामी ३ महिनामा अपेक्षित मुद्रास्फीति १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतसम्म हुनसक्ने अनुमान उत्तरदाताले गरेका छन् । गत असोजमा भएको सर्वेक्षण्मा पनि ३ महिनामा १० प्रतिशत र १ वषमा १२ प्रतिशत अपेक्षित मुद्रास्फीति हुने अनुमान उपभोक्ताको थियो ।

उपभोक्ताले अहिले पनि १२ प्रतिशत नै मूल्यवृद्धि रहेको अनुमान गरेको बताएका छन् । तर, राष्ट्र बैंककको तथ्यांक अनुसार भने २०७९ पुसको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव २६ प्रतिशत रहेको अनुमान गरेका छन् । असोजमा भएको सर्वेक्षणमा पनि उपभोक्ताले १२ प्रतिशत नै मुद्रास्फीति रहेको अपेक्षा गरेका थिए ।