जोमसोम— मुस्ताङको थासाङ गाउँपालिका–३ कालीगण्डकीमा जीप दुर्घटना भएको छ । जोमसोमबाट पोखराका लागि हिंडेको बस थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा दुर्घटना भएको हो ।

उक्त बस कालिगण्डकीमा नदीमा खस्दा २ भारतीयसहित १७ जना यात्रु घाइते भएको खबर छ । ना.७ ख. ७४४० नम्बरको बस कालीगण्डकी नदीमा खस्दा बसमा सवार सबै यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै ४५ मिटर तल खसेको बताइएको छ । बस सीधै नदीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले तत्काल उद्धार हुँदा ठूलो क्षति हुन नपाएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।

गम्भीर घाइते भएका २ जनासहित १४ जनालाई थप उपचारका लागि पोखरा पठाइएको र सामान्य घाइते भएका बाँकी तीन जनाको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी घाइतेहुनेमा घुम्न गएका र स्थानीयहरु रहेको बताइएको छ ।