काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ केजी चरेससहित चारजना थाइल्याण्ड नागरिक पक्राउ परेका छन् । तीन महिला र एक पुरुष सहित चार थाइल्याण्डका नागरिक माघ २८ गते स्वदेश फर्कन लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट २३ केजी ८ सय ग्राम चरेस बरामद गरेको लागुऔषध नियन्त्रण ब्युरोले बताएको छ ।विमानस्थलमा गरिएको चेकजाँचका क्रममा याओवालुक ज्याब्श्री, परिचार्ट पम्क्रुक, नाटापोल ट्रचाइया र नान्ट्री ट्रचाइया पक्राउ परेका थिए । उनीहरुको लगेज चेकजाँचका क्रममा फल्स बटम बनाएर चरेस लुकाएको पाइएको छ ।

प्रहरीका अनुसार उनीहरुले नेपालमा उत्पादन हुने चरेस बैंकक लान खोजेका थिए । चारै जनाविरुद्ध लागूऔषध ऐन अनुसारको कसूरमा अनुसन्धानमा लागि म्याद थप गरेर छानबिन भइरहेको प्रहरीको भनाइ छ ।