फाइल तस्वीर

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ । काठमाडौंको किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई २ विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर १४ बल बाँकी छँदै भेट्टाएको हो । नेपालको जितको लागि कुशल भुर्तेलले ११५रनको कीर्तिमानी शतकीय इनिङ जोडे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो । साथै, टी२० अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् । यस अघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरिसकेका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको थियो । नामिबियाले माइकल भान लिगेनले १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।

नेपालका लागि करण केसीले १० ओभरमा ६१ रन खर्चिएर ५ विकेट लिए । एकदिवसीय अन्तराष्ट्रियमा करणको यो तेस्रो ५ विकेट हो । सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र कुशल मल्लले समान १÷१ विकेट लिए । सिरिजमा नेपाल २५ खेलमा २० अङ्क जोडेर छैटौं स्थानमा रहेको छ भने नामिबिया ३१ खेलमा ३७ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।