फाइल तस्वीर


नेपालगञ्ज — सरकारका प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले हिमालयन विज्ञान मेलाको उद्घाटन गर्नुभएको छ । मन्त्री शर्माले आज मङ्गलबार एक समारोहबीच नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्नुभएको हो ।

हिमालयन साइन्स फाउण्डेसनद्वारा आयोजना गरिएको सो विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले अहिले प्रविधिको युग भएकाले प्रविधिमा फड्को नमारेसम्म देश अगाडि बढ्न नसक्ने भन्दै सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारका लागि कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।

आयोजनाको उद्घाटन गर्दै मन्त्री शर्माले विज्ञान र प्रविधिको विकासको निम्ति देशका हरेक क्षेत्रमा लगानी बढाउनुका साथै सबैलाई अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुहुँदै अहिले सञ्चार मन्त्रालयमा पनि प्रविधि जोडिएकाले अब मन्त्रालयले साइन्स र प्रविधिसँग जोडिएका अग्रजहरूलाई उचित सम्मान र मूल्याङ्कन गर्ने बताउनुभयो ।

संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले विज्ञान र प्रविधिले देशको विकासमा टेवा पुग्ने उल्लेख गर्दै कृषि र रोजगारलाई पनि प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने सो मेलामा विभिन्न विद्यालयका विद्यार्थीद्वारा बनाइएका विज्ञान र प्रविधिसम्बन्धी ५० भन्दा बढी स्टलहरू राखिएका छन् । आयोजक हिमालयन साइन्स फाउन्डेसनका अनुसार उक्त प्रदशैनीमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामाग्रीहरु राखिएका छन् ।