काठमाडौं — आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नामिबियाले नेपाललाई दिएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो ।

यसअघि नामिबियाले ७ डिसेम्बर २०२२ मा नेपाललाई २ सय ७६ रनको लक्ष्य दिएको थियो । सो खेलमा नेपाल ८६ रनले पराजित भएको थियो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका लागि माइकल भान लिङ्गेनले शतकीय पारी खेले । १३७ बलको सामना गरेका उनले ५ छक्का र ९ चौकासहित १ सय ३३ रन बनाए ।

एकदिवसीय करियरमा लिङ्गेनको यो करियरकै उच्च स्कोर हो । कप्तान गेहार्ड इरास्मसले ७९ बलमा तीन छक्का र दुई छक्काको सहयोगमा ५६ रन बनाए । यस्तै, जेन ग्रीनले ३४, चार्ल्स बर्केनस्टक, जन फ्राइलिंकले १३÷१३ र रुबेन ट्रम्पलम्यानले ११ रन जोडे । बलिङमा करण केसीले १० ओभरमा एक मेडनसहित ६१ रन दिएर ५ विकेट लिए ।

उनले तेस्रोपटक एकदिवसीयमा ५ विकेट लिएका हुन् । त्यस्तै, पूर्वकप्तान सन्दीप लामिछानेले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए । ६ महिनापछि मैदान फर्किएका उनको कमब्याक राम्रो रह्यो । त्यस्तै, कुशल मल्ल र सोमपाल कामीले एक÷एक विकेट हात पारे ।