नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिंदै तस्वीर


दाङ — लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएसँगै आज नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।

पद तथा गोपनीयताको शपथ लिनुहुने मन्त्रीहरुमा नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य जोखबहादुर महरा— आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रकै इन्द्रजीत थारु —भौतिक पूर्वाधार विकासमन्त्री, नेकपा (एमाले)का विष्णुप्रसाद पन्थी—स्वास्थ्यमन्त्री, एमालेकै दुर्गाप्रसाद चौधरी— वन तथा वातावरणमन्त्री, सोह पार्टीका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री हुनुहुन्छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकासमन्त्रीको शपथ लिनुभएको छ ।

एक महिना अघि नियुक्त हुनुभएका विनाविभागीय मन्त्रीका रूपमा रहेका एमालेका चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्रीको जिम्मेवारी तोकिएको छ भने माओवादी केन्द्रकी कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको दावी गर्दै सो मन्त्रालय नपाउने भएपछि मन्त्रीपदबाट राजीनामा दिनुभएको थियो । भौतिक योजनामन्त्री नपाएर असन्तुष्ट बन्नुभएकी कृष्णा केसी पार्टीको निर्णय अनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी संहाल्न सहमत हुनुभएपछि मन्त्रीमा नियुक्त गरिएको हो

मुख्यमन्त्री लीला गिरीले आफू पदमा नियुक्त भएको एक महिनापछि हिजो शनिबार मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।् ८७ सदस्यीय प्रदेशसभामा सरकारलाई ५८ सांसदको समर्थन छ । एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमतसहित दुई स्वतन्त्र सांसदले सरकारलाई समर्थन गरेका छन् ।