उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, फाइल तस्वीर

काठमाडौं — सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको हो ।

तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले नौ महिनाअघि अर्थात् जेठ १५ गते आ.व. २०७९÷०८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो ।

देशको आर्थिक अवस्था कमजोर भएको र खर्च कटौती गर्दै सरकारले आज चालु आ.व.को बजेतको आधार घटाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा झार्नुभएको छ । तात्कालीन अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको बजेटलाई अर्थमन्त्री पौडेलले २ खर्ब ४४ अर्ब रुपैयाँ अर्थात् १४ प्रतिशतले घटाउनु भएको छ ।

आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँबाट १० खर्ब २१ अर्ब ९२ करोड रुपैयाँमा झारेको उल्लेख गर्नुभयो । पूँजीगततर्फको कुल ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँलाई घटाएर ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको अर्थमन्त्रीले सदनलाई जानकारी गराउनु भयो ।

यसैगरी वित्तीय व्यवस्थानतर्फ २ खर्ब ३० करोड रुपैयाँ छुट्याइएकोमा त्यसको सीमालाई केही घटाएर २ खर्ब १४ करोड रुपैयाँमा झारिएको छ । तात्कालीन अर्थमन्त्री शर्माले लक्षित गर्नुभएको राजस्व सङ्कलन हुन नसक्ने देखिएपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनको लक्ष्यलाई पनि घटाउनु भएको छ ।

गत जेठ १५ गते सार्वजनिक गरिकएको बजेटमा राजश्व सङ्कलनको लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राखिएको थियो । अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेपछि अर्थमन्त्री पौडेलले राजश्व सङ्कलनको लक्ष्यलाई घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँको अनुमानित सीमा तोक्नु भएको छ ।

चालु आर्थिक वर्षको बजेटमा लक्षित गरेको राजश्व सङ्कलन हुने अवस्था नदेखिएपछि प्रधानमन्त्रीले उक्त लक्ष्यलाई पनि घटाउनु भएको हो । सरकारले पूँजीगततर्फ खर्च गर्न नसक्दा अर्थतन्त्रमा प्रतिकुल प्रभाव परेको छ । अर्थतन्त्र चलायमान हुन सकेको छैन ।