फाइल तस्वीर

टर्कीएको पूर्वी भाग र छिमेकी देश सिरियामा गत सोमबार गएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाभन्दा बढीको मृत्यु भएको छ । उक्त भूकम्पका कारण हजारौं मानिसहरु घाइते हुनुको साथै ठूलो मात्रामा भौतिक क्षतिसमेत भएको छ ।

टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति पुगेको छ । कयौं मानिसहरु भग्नावशेषमा अझै पुरिएको हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

टर्कीएमा मात्रै अहिलेसम्म २४ हजार छ सय १७ जनाको ज्यान गएको त्यहाँका उपराष्ट्रपति फुवाट ओक्टेले बताउनुभएको छ । सिरियामा तीन हजार पाँच सय ७५ जनाको ज्यान गएको छ । सरकार नियन्त्रित क्षेत्रमा एक हजार चार सय आठ जना तथा विद्रोहीको पकड भएका भूभागमा दुई हजार एक सय ६७ जनाको मृत्यु भएको उद्धारमा संलग्न स्वयम्सेवी संस्थाका प्रतिनिधिहरूले बताएका छन् ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको बताए पनि त्यससम्बन्धी वास्तविक विवरण दिएको छैन ।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले सिरियाली भूकम्पपीडितलाई सहायता सामग्री बेरुतको लेबनानबाट परिचालन गरिएको बताउनुभएको छ । रेडक्रस र रेडक्रिसेन्टलगायत अन्तर्राष्ट्रिय परोपकारी संस्थामार्फत राहत सामग्री वितरण गरिने जानकारी उहाँले दिनुभएको छ ।

भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्र्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने केही संस्थाले सुरक्षाका कारण खोज तथा उद्धारका काम रोकेका छन् । टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश गरेका छन् ।