फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउने निर्णय गरेको छ । सत्ता साझेदार दलहरुबीचको छलफल पछि गठबन्धनलाई अझ मजबुत बनाउँदै सहकार्यलाई अगाडि बढाउने र छलफललाई निरन्तरता दिंदै जाने निर्णय भएको हो ।
बैठकपछि राप्रपाका अध्यक्ष रहनुभएको उर्जा तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामकारवाहीको समीक्षा भएको भएको बताउनुभएको छ । ‘आगामी दिनमा अझ मजबुत ढङ्गले यो सहकार्यलाई अगाडि बढाएर लैजाने भन्ने सहमति भएको छ र अब नियमित रुपमा यस प्रकारको भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ’— राप्रपाका अध्यक्ष लिङ्देनले बताउनु भयो ।
आज भएको बैठकमा रास्वपालाई पुनःसरकारमा ल्याउनेबारे पनि छलफल भएको थियो । ‘उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्याहरु छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने कुरा भएको छ,’ अध्यक्ष लिङ्देनले भन्नुभयो ।
आजको बैठकमा राष्ट्रपतिको निर्वाचनको विषयमा खासै छलफल नभएको भन्दै अध्यक्ष लिङ्देनले ‘बाहिर आएका कुराहरु भ्रमपूर्ण छन् । ‘हामीले यो सरकार निर्माणको क्रममा जुन सहमति कायम गरेका थियौं, त्यो सहमतिमा अहिले सत्ता साझेदार दलहरुबीच कुनै विमती छैन । त्यो सहमतिमा कुनै परिवर्तन गर्नुपर्यो भने पनि सहमतिबाटै हुन्छ’ — भन्नुभयो ।
आजको बैठकमा दल दलका शीर्ष नेताहरुको उपस्थिति थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व उपप्रधानमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको सहभागिता रहेको बैठकमा जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागिता थिएन । सरकारसँग असन्तुष्ट भएका कारण उनीहरु बैठकमा अनुपस्थित रहेका हुन् ।