विनाविभागीय मन्त्री कृष्णा केसी, फाइल तस्वीर


दाङ — लुम्बिनी प्रदेश सरकारमा नेकपा एमाले र माओवादी केन्द्रविच दरार उत्पन्न भएको छ । प्रदेश सरकारमा एक महिना अघि मन्त्रीमा नियुक्त हुनुभएकी कृष्णा केसीले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी नपाएको भन्दै मन्त्रीपदबाट राजीनामा दिएपछि विवाद सतहमा आएको हो ।

माओवादी केन्द्रका नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी मुख्यमन्त्री निकट स्रोतले बताएको छ । माओवादी स्रोतले पनि उनले राजीनामा दिएको पुष्टि गरेको छ ।

मन्त्रालयको भागबण्डाको भागबण्डा नमिलेपछि मन्त्री केसीले आज पदबाट राजीनामा दिनुभएको बताइएको छ । एक महिना अघि मन्त्रीमा नियुक्त हुनुभएकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै आउनुभएको थियो । तर मुख्यमन्त्री लीला गिरीले उहाँलाई उक्त मन्त्रालयको सट्टा आन्तरिक मामिला, कानुन मन्त्रालय दिने भनिएपछि मन्त्री पदबाट राजीनामा दिनुभएको भनिएको छ ।

पाउनु पर्ने मन्त्रालय नपाएको भन्दै पार्टीभित्र असन्तुष्टि जनाउँदै केसीले मन्त्री पदबाट राजीनामा दिनुभएको स्रोतको भनाइ छ । भौतिक पूर्वाधार मन्त्रालय माओवादी केन्द्रको भागमा परेको हुँदा माओवादीका सांसद इन्द्रजित थारुलाई दिने तयारी मुख्यमन्त्रीको रहेको छ । मुख्यमन्त्री गिरीले भोलि आइतबार मन्त्रिपरिषद् विस्तार गरेर पूर्णता दिने तयारी गर्नुभएको स्रोतले बताएको छ ।