काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक सेवालाई सूचना प्रविधिको माध्यमबाट भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो भनाइ राख्नु भएको हो ।
राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक खरिद ऐनलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुहुँदै ‘प्रशासनिक सेवालाई सूचना प्रविधिको माध्यमबाट कामगर्दा र सार्वजनिक खरिदलाई प्रभावकारी बनाउँदा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने मैले विश्वास लिएको छु’ भन्नुभयो ।
राष्ट्रपतिले भ्रष्टाचार नियन्त्रण ‘राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको संयुक्त प्रयासले मात्रै प्रभावकारी हुने’ भन्नुहुँदै भ्रष्टाचारले दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पु¥याउने उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा तीनै तहका सरकार र नागरिकको सहकार्यबाट मात्र भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।