किभ — राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली सङ्घमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलव्ध गराउन आग्रह गर्नुभएको छ । साथै उहाँले युक्रेनलाई शीघ्र सङ्घको सदस्यता प्रदान गर्न अनुरोध पनि गर्नुभएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई युद्ध जित्नका लागि लामो समयसम्म अथक सहयोग गर्न संघका नेताहरूले सहमति जनाएका बताउनुभएको छ ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किएभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन थप हतियार सहायता माग गरेको हो ।
युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले पनि युक्रेनलाई सघाउने बाचा गर्नुभएको छ । आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले नयाँ १० अर्ब युरो प्रतिबन्ध प्याकेजले रूसलाई आवश्यक पर्ने सैन्य सामानहरूबाट वञ्चित गर्ने बताउनुभएको छ ।

यसअघि जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने घोषणा गरेका थिए