काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले भोलि शुक्रबार नै सञ्चालक समितिको बैठक बसेर सोही दिन मौद्रिक नीति समीक्षा सार्वजनिक गरिने भएको जनाएको हो ।

केन्द्रीय बैंकले भोलि शुक्रबार बिहान सञ्चालक समीतिको बैठक बोलाएको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार पछिल्लो समय आर्थिक सूचकहरु सबल बन्दै गएकाले कर्जा लगानी सहज बनाउने नीति लिइने भएको छ । खासगरी पुँजीगत खर्च बढाउन सहयोग पुग्ने किसिमको मौद्रिक नीति आउने बताइएको छ ।

यता, राष्ट्र बैंकले सेयर धितो कर्जामा पनि केही सहज नीति आउने सङ्केत दिएको छ । लगानीकर्ताहरुले पनि सेयर धितो कर्जामा १२ करोडको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोभन्दै उक्त व्यवस्था फिर्ता गर्न सुझाव दिएका छन् । सोही अनुसार केही लचक व्यवस्था गर्न सकिने सम्भावना रहेको केन्द्रीय बैंकको भनाई रहेको छ ।

केही दिनअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधार हुँदै गएकाले अफ्ठयारो अवस्थामा लिइएका नीतिहरुलाई विस्तारै परिवर्तन गर्दै, खुकुलो बनाउँदै जान सकिने बताउनुभएको थियो । फलस्वरुपः सरोकारवालाहरुले यसपटकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले केही नीतिगत व्यवस्थालाई सहज बनाइदिने अपेक्षा गरेको बुझिएको छ ।

मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन, २०७९ ले त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार माघ अन्तिमसम्ममा अर्धवार्षिक समीक्षा गरिसक्नुपर्छ । सोही अनुसार केन्द्रीय बैंकले भोलि शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न लागेको हो ।