फाइल तस्वीर
मेलम्ची — इन्द्रावती बगरमा आजभन्दा १०/१२ वर्ष पहिले माछा मार्नेको घुइँचो लाग्थ्यो तर अहिले बगरमा अधिकांश बालुवा चाल्ने र ज्यामी काम गरिरहेका मात्र भेटिन्छन् । इन्द्रावती गाउँपालिका–११ र १२ का माझी तथा दनुवारले माछा मारेरै जीविका चलाउने गरेका थिए ।
पहिला खोलामा माछा कति पाइन्थ्यो भन्ने साँधी नै थिएन तर अहिले खोलामा माछा देख्नै गाह्रो भएको इन्द्रावती–१२ का बृद्ध पृथ्वीबहादुर दनुवार बताउनुहुन्छ । “माछा पाइने भएकाले एक/दुईघण्टा समय दिएपछि घरखर्च चलाउन समस्या नै हुँदैनथ्यो । घरमा तरकारी नहँदा पनि खोलामा जाने गरिन्थ्यो । एक छिनमै ल्याएको माछाले छाक टरिहाल्थ्यो । अहिले खोलामा डढेँलो नै लागेजस्तो भाको छ”, उहाँ भन्नुहुन्छ ।
“साना–ठूला माछा छेउछाउमै भेटिन्थ्यो । एउटा भङ्गालो थुन्दा एक झोला माछा जम्मा हुने गर्दथ्यो,” पृथ्वीबहादुर विगत सम्झदै भन्नुहुन्छ, ‘‘क्रसर सुरु भएपछि केही मात्रामा खोलामा माछा घटेको छ । जब २०७२ सालमा भूकम्प आयो त्यसपछि भने माछा पाइन नै छाड्यो ।’’ एक ÷दुई रुपैयाँ किलोको माछा बेच्दा पनि माछा मारेर घरखर्च पुग्ने गरेको उहाँ बताउनुहुन्छ । अहिले माछा मार्ने व्यवसाय नै धरापमा परेकाले विकल्पकरुपमा ज्याला मजदूरी गर्न बाध्य भएका दनुवार समुदाय । खोलामा प्रश्सतै माछा पाउँदा ती समुदायका अधिकांशले घरखर्च चलाउने माध्यम नै खोला बनेको थियो । बिहान घामको झुल्कोसँगै हातमा जाल र कम्बरमा गेद्रा लिएर खोलामा पुग्ने दनुवारहरु अहिले खोलामा देख्नै मुस्किल भइसकको छ । बाउबाजेदेखि गरिआएको पेसा नै धरापमा परेको छ ।
अहिले लोकल माछाको माग बढ्न थालेको र राम्रो मूल्यमा बिक्री हुने भए पनि खोलाको माछा पाइनै छाडेको छ । साविकको भीमटार गाविसका माझी तथा दनुवार समुदाय माछा मार्न र खान सौखिन थिए तर अहिले क्रसर उद्योगले आफूखुशी खोला उत्खनन गर्ने र विष प्रगोग गरेर माछा मार्ने गर्दा माझी तथा दनुवार समुदायको दैनिक गतिविधि नै विथोलिएको छ ।
“हाम्रो त जागिर, पेसा र व्यवसाय जे भने पनि खोलाको माछा हो”, सोही स्थानका अर्नुन दनुवार भन्नुहुन्छ, “अहिले नदीमा माछा घटेकाले दिनभर खोलामा डुल्दा पनि रित्तो हात फर्किनुपर्ने अवस्था छ । माछा मारेरै गुजारा गर्नेलाई हातमुख जोर्नै धौधौ परेको छ ।” उहाँको भनाइ छ ।
नदीमा माछा घटेसँगै भीमटारमा स्थानीयवासीले पेसा नै छाडेका छन् । नदीमा क्रसर उद्योग बढेसँगै बालुवा उत्खनन् तीव्र गतिमा हुँदा माछाको सङ्ख्यामा कमी आएको छ । नदी वरपर खोलिएका क्रसरबाट निस्कने लेदो माटोका कारण पनि खोलामा माछा पाउन मुस्किल हुने गरेको छ । बाबुबाजेदेखि आफूले पनि गर्दै पेसाबाट हात धुनुपर्ने अवस्था आएको भीमटारका कृष्णबहादुर दनुवारको गुनसो छ ।
खोला बगर आसपासका बस्तीमा बस्न रुचाउने दनुवार तथा माझी समुदाय अहिले वैकल्पिक कामको खोजीमा लाग्न थालेको ईन्द्रावती १२ का वडाध्यक्ष सुरेन्द्रबहादुर दनुवारको भनाइ छ । अघिल्ला पुस्ताले अहिले शिक्षा आर्जनका लागि आफ्ना सन्तानलाई अग्रसर गराएका छन् तर सोचेजति उपलब्धि भने हासिल गर्न नसकेको उहाँ बताउनुहुन्छ । अहिले उक्त समुदायमा सबैले अध्ययनसँगै सीप पनि सिक्न थालेकाले अबको केही समयमा भने बेरोजगारीको समस्या विस्तारै हट्दै जाने वडाध्यक्ष दनुवार जानकारी दिनुहुन्छ ।
माछा मार्ने र बालुवा चाल्ने कामको विकल्प खोजी गरिरहेको इन्द्रावती–११ का वडाध्यक्ष रामजी माझीको भनाइ छ । विगतमा समुदायका व्यक्तिमा सीप र शिक्षा नभएका कारण माछा मार्ने र बालुवा चालेर गुजारा गर्न बाध्य थिए तर अहिले वडाबाट बङ्गर पालन, कुखुरा पालनलगायत उद्यममा लगाएर अनुदान दिने गरिएको उहाँ जानकारी दिनुहुन्छ । कृषिलाई आधुनिक तरिकाबाट खेती गर्न केही किसानलाई अनुदानका रूपमा टनेल र तरकारीको बीउ वितरण गरिएककोे वडाध्यक्ष माझीको भनाइ छ ।