धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ । रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बैठक बेलुकी ५ बजेसम्मका लागि सरेको हो ।

केही दिनअघि काठमाडौं आएका नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद अहिले पनि काठमाडौंमा वार्ता र छलफल गरिरहेका छन् ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका उनीहरूले आज बिहान पनि छलफल गरेका थिए ।

प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीका अनुसार हिजो बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल भयो । अहिले पनि हाम्रो पार्टीका संरक्षक रेशम चौधरीसँग छलफल हुँदैछ । नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य चौधरीले भन्नुभयो, ‘विश्वासको मत दिने वातावरण बन्यो भने केहीबेरमा धनगढी फर्किन्छौं ।’

बुधबार बस्दै नबसी स्थगित भएको प्रदेशसभा बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

नागरिक उन्मुक्ति पार्टीले भने जेलमा रहेका रेशम चौधरीलगायत टीकापुर घटनामा जोडिएकाहरूलाई रिहाइ गर्नुपर्नेलगायत माग राख्दै आएका छन् ।

मुख्यमन्त्री हुँदा रावललाई माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो । यीमध्ये नागरिक उन्मुक्ति पार्टीले अहिले विश्वासको मत दिन नसकिने अडान राखिरहेको छ ।

प्रतिपक्षमा भने नेपाली काङ्ग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन् ।