टर्की र सिरिया भूकम्पले भत्तिएर घरहरु, फाइल तस्वीर


टर्की – टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १५ हजारभन्दा बढी पुगेको छ । भूकम्पबाट टर्कीमा करिब १३ हजार जना र सिरियामा करिब दुई हजार जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार भूकम्पले घरहरु भत्तिएर लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय सरकारको आलोचना गर्ने नभइ सबैमिलेर उद्धारमा खटिनु पर्ने भन्दै भूकम्प पीडितहरुको लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताउनु भएको छ ।

तर टर्कीको मुख्य विपक्षी पार्टीका नेताले राष्ट्रपति रेचेपको भनाई प्रति असहमति जनाउनु भएको छ । विपक्षी दलका नेताले यति धेरै क्षतिको जिम्मेवार राष्ट्रपति एर्दोआन नै भएको आरोप लगाउनु भएको छ । राष्ट्रपति एर्दोआनले भने आरोप खण्डन गर्दै ‘यो एकजुट हुने समय हो । यस्तो स्थितिमा राजनीतिक फाइदाका लागि नकारात्मक अभियान चलाउनेलाई म सहन सक्दिनँ’– भन्नुभएको छ ।

राष्ट्रपति रेचेप भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुको स्थलगत भ्रमण गर्दै यो विपदको सामना गर्न पूर्वतयारीले पनि नपुग्ने भनेर टिप्पणी गर्नुभएको छ । राष्ट्रपति रेचेप केही समय काम गराइमा समस्या आए पनि अहिले स्थिति नियन्त्रणमा रहेको बताउनु भएको छ ।

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ । यसबाट सिरिया अझै बढी प्रभावित भएको छ । सबैभन्दा बढी इदलिब प्रान्त प्रभावित भएको छ ।

टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीका विदेशमन्त्रीको भनाइ छ । युरोपेली सङ्घले सिरिया सरकारको अनुरोधमा ३५ लाख युरो बराबरको राहत पठाउने घोषणा गरेको छ । सिरियाका राष्ट्रपति बसर अल असदलाई युरोपेली संघले नस्वीकारे पनि विपदको बेला सहयोग भने पठाइएको छ । आफूले गरेको सहयोग सरकार र विद्रोही नियन्त्रित सबै क्षेत्रहरुमा पुग्नुपर्ने युरोपेली सङ्घले भनेको बीबीसीले जनाएको छ ।