वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु आव २०७९÷८० असार मसान्तभित्र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय तथा मातहतमा रहने संरचना र दरबन्दीको निक्र्यौल गर्ने निर्णय गरेको प्रवक्ता जिसीले जानकारी दिनुभयो ।
त्यस्तै, एकीकृत मन्त्रालयको नाम चालु आव २०७९÷०८० असार मसान्तसम्म साविकको दिएको अख्तियारी अनुसार नै बजेट तथा कार्यक्रम कार्यान्वयन तथा हाल कार्यरत प्रदेश सचिव (भौतिक पूर्वाधार र जलस्रोत तथा ऊर्जातर्फ)ले साविकको कार्य जिम्मेवारी अनुसारकै कार्य क्षेत्रमा कामकाज र एकको अनुपस्थितिमा अर्कोले कार्य सम्पादन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको प्रस्तावमा एकीकृत बस्ती विकास नियमावली २०७९ स्वीकृत गरेको उक्त मन्त्रिपरिषद्को बैठकले २०७९ फागुनदेखि प्रत्येक महिनाको दोस्रो र चौँथो हप्ताको बुधबार बैठक बस्ने निर्णय गरेको छ ।
प्रवक्ता जिसीका अनुसार उक्त बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेशभर प्रदेश तथा स्थानीय तहका कार्यालयका लागि मात्र विसं २०७९ फागुन १ गते सोमबार जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने र सोको सूचना प्रदेश राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ ।