काठमाडौं — नेपाल राष्ट्र बैंकले माछापुच्छ्रे, सानिमा बैंकसहित नौ वटा वाणिज्य बैंकका सीईओ तथा अध्यक्षलाई कारबाही गरेको छ ।

माछापुछ्रे बैंकका सीईओलाई पूँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको छ भने सानिमा बैंकले तत्कालीन सीईओ भुवन दाहाललाई थप सेवा सुविधा दिएको भन्दै सचेत गराएको हो ।

यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियम उल्लङ्घन गरेको आरोपमा प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाडौं र प्राइम कमर्सियल बैंकलाई ५० लाख रूपैयाँका दरले जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

केही बैंक भने कारबाहीमा दोहोरिएका छन् । केन्द्रीय बैंकले तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे र सिभिल बैंकलाई ऋणीलाई दिएको कर्जामा नियमविपरीत पुनः प्रिमियम दर वृद्धि गरेको भन्दै सीईओलाई सचेत गराएको छ ।

यस्तै नबिल बैंकलाई ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएको भन्दै सचेत गराइएको छ ।