धनगढी — सुदूरपश्चिम प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको बैठक भोलि बिहीबार दिउँसो १ बजे पुनः बस्नेगरी स्थगित भएको हो ।

प्रदेश सभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ । पुस २७ मा मुख्यमन्त्री नियुक्त हुनुभएका रावलले आज विश्वासको मत लिने कार्यसूची तय भएको थियो ।
मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ ।

सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन । आफ्ना राजबन्दीलाई रिहाइ नगरेसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने सो पार्टीले जनाउँदै आएको छ । त्यसैले रावल नेतृत्वको सरकार सङ्कटमा परेको जनाइएको छ ।