फाइल तस्वीर
दाङ — लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज बुधबार उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

राष्ट्रियसभा सदस्यबाट एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही पदमा उपनिर्वाचन गर्नुपरेको हो । भट्टराईले प्रतिनिधिसभा सदस्यमा उठ्नका लागि पार्टीको निर्णयअनुसार राष्ट्रियसभा सदस्यबाट राजीनामा दिनुभएको थियो । अन्तिम समयमा भट्टराईलाई पार्टीले टिकट नदिएपछि सांसदहुनबाट वञ्चित हुनुभयो ।

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले अहिले मतदान गरिरहेका छन् । मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताएअनुसार मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुका लागि मतदानको व्यवस्था मिलाइएको छ । कुल मतदाता सङ्ख्या ३ सय ५ रहेको लुम्बिनीमा प्रदेश सांसद् ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना छन् ।

राष्ट्रियसभा सदस्यका लागि यस उपनिर्वाचनमा नेकपा एमालेबाट कुमार दशौदी, नेपाली काङ्ग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेका उम्मेदवारलाई नेकपा माओवादी केन्द्रको साथ रहेकोले दशौदीको पल्लाभारी हुने देखिएको छ ।