फाइल तस्वीर ।
काठमाडौं — कर्मचारी समायोजनप्रति तिव्र असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । सिभिल र हिमालयन बैंकबीच मर्जरभै संयुक्त कारोवार गर्ने अवस्थामा पुगेको बेला कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरू गरेका हुन् ।

बैंक मर्जर गर्दा सिभिल बैंकका कर्मचारीहरुलाई एक तह घटुवा गरी समायोजन गर्न लागेको भन्दै असन्तुष्टि जनाएका छन् । सिभिल बैंक कर्मचारी युनियनका अध्यक्ष सत्यन्द्र निरौलाले ‘एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागेको विरोधमा आज बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टाका लागि देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू गरेको बताएका छन् । कर्मचारी समायोजनमा व्यवस्थापनसँग छलफल भइरहेको र व्यवस्थापनलाई दबाव दिन पेन डाउन गरिएको युनियनका अध्यक्ष निरौलाले जानकारी दिएका छन् ।

सिभिल बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभिन गत असार महिनामै प्रारम्भिक सम्झौता भएको थियो । यी दुई बैंकबीच अन्तिम मर्जर सम्झौता पुसमा भएको थियो । फागुनबाट दुवै बैंक मर्जर भै एकीकृत कारोवार गर्ने तयारी भैरहेको बैंक व्यवस्थापनले जनाएको थियो । सोही अनुरुप यतिबेला बैंकिङ सफ्टवेयर मिलाउनेदेखि कर्मचारी समायोजन गर्ने लगायतका कामहरु तिव्रगतिमा भइरहेको छ ।

कर्मचारी समायोजनका विषयमा सिभिल बैंकका कर्मचारीहरुले उठाएको विषयमा छलफल गर्न केही दिन ढिलाई हुनेभएको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोशमशेर राणा पिताको शोकमा रहनुभएकाले समायोजनको विषयमा छलफल गर्न ढिलाई भएको बताइएको छ ।

सिभिल बैंकका आन्दोलतमा उत्रेका कर्मचारीहरुका अनुसार एकातिर पद समायोजनमा समस्या रहेको छ भने अर्को विषय भनेको खाइपाई आएको सेवा सुविधा घट्न जाने हुँदा यी समस्यालाई तत्काल व्यवस्थापन गर्नुपर्ने उनीहरुको मुख्य माग हो ।