काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बुधबार संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि ११ बजे बस्ने तय भएको बैठक १ बजे सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका एमालेका रावलाई नागरिक उन्मुक्तिले भने विश्वासको मत नदिने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले मङ्गलबार सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । योसँगै मुख्यमन्त्री रावलको पद सङ्कटमा पर्ने देखिएको छ । मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।

नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको समर्थनमा गत पुस २७ गते नेकपा (एमाले)का रावल मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । रावललाई माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाका एकसहित २९ सांसदको समर्थन छ ।

प्रदेशसभामा सरकार बनाउन २७ सांसदको मत चाहिन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेसका १९ जना, माओवादी केन्द्रका ११ जना, एमालेका १० जना, नागरिक उन्मुक्तिका सात जना, नेकपा एकीकृत समाजवादीका चार जना, राप्रपाका एक जना र स्वतन्त्र एक जना सांसद छन् । रावल नेतृत्वको सरकार ढलेसँगै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसलाई सरकार बनाउने बाटो खुल्नेछ ।