ढाका — बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मुस्तोफा कमल स्टेडियममा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल ग¥यो । खेलमा नेपाललाई जित दिलाउन अन्जली चन्द, प्रिती राई र अमिशा कार्कीले एक–एक गोल गरे । खेलको २१औं मिनेटमा अपुर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । तर ४७ औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काइन् ।

कप्तान प्रिती राईले ६८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् । अग्रता बनाएपछि भारतमाथि हावी भएको नेपालका लागि अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै ३–१ को जित दिलाइन् ।

भारतकी अपूर्ण नार्जारीले एक गोल फर्काइन् । पहिलो हाफमा एक गोलले पछि परेको नेपाल अग्रता उल्ट्याएर विजयी बनेको हो । जितसँगै नेपाल ३ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा आयोजक टिम बङ्गलादेशसँग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अङ्क जोड्यो ।

भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अङ्क मात्र जोड्न सक्यो । हारपछि भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ । भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बङ्गलादेशलाई अनिवार्य पराजित गर्नुपर्नेछ । तर यसअघिका दुई खेल हार्दै बाहिरिसकेको भुटानले बङ्गलादेशलाई हराउनु निकै चुनौतीपूर्ण छ ।