काठमाडौं — अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई अनुदान रकमसम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष ०७९÷८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा पठाउन निर्देशन दिएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलका अनुसार सबै तहका सरकारले दिने अनुदानको विवरण तयार पार्न अर्थ मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही बमोजिम सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई १० दिनभित्र अनुदान रकमसम्बन्धी विवरण पठाउन परिपत्र गरेको जनाएको हो ।

मन्त्रालयले माग गरेको उक्त परिपत्र अनुसार स्थानीय तहहरुले अनुदान दिने निकाय, अनुदान रकम, अधिकतम र न्यूनतम अनुदान, अनुदान पाउने संस्था, अनुदानको प्रभावकारिता लगायतका विषयवस्तु समेटेर विवरण पठाउनु पर्नेछ ।