फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो भनाइ राख्नु भएको हो ।
सरकारी विदा धेरै हुँदा सेवा प्रवाह प्रभावित भएको भन्दै त्यसमा पुनर्विचार गर्नुपर्ने आवश्यक भएको प्रधानमन्त्रीको भनाइ थियो । ‘हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ । सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ । यस विषयमा मन्त्रिपरिषद्मा पनि छलफल भएको छ’ प्रधानमन्त्रीले भन्नुभयो ।
विदा धेरैभएको प्रति इङ्कित गर्दै प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएको हुँदा यस विषयमा थप छलफल गरेको अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । यी सबैको प्रकृति एकै खालको भएको हुँदा अब एकीकृत गरेर जानु उपयुक्त हुने भन्दै प्रधानमन्त्रीले राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक भएको बताउनुभयो ।
प्रधानमन्त्रीको संयोजकत्वमा गठित मूल समारोह आयोजक समितिको उक्त बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।