जनकपुरधाम — मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छ । आज मङ्गलवार माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । मधेस प्रदेशको मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसद्ले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा माओवादीका सांसद उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवलाई शपथ खुवाउनुभएको हो । उहाँले देश र जनताको नाममा मैथिली भाषामा शपथ लिनुभएको हो ।

सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त हुनुभएको माओवादीका सांसद् रहबर अन्सारीले पनि आजै शपथ लिनुभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले उहाँलाई शपथ खुवाउनुभएको हो । उहाँले भोजपुरी भाषामा शपथ लिनुभएको छ । मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित हुनुभएको हो ।