प्रतिकात्मक तस्वीर


सप्तरी— जिल्ला अदालत सप्तरीले भाउजूको हत्या आरोपमा एक व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द र उनका भाई शिवानन्द रायलाई अदालतले सोमबार जन्मकैदको सजाय सुनाएको हो ।
आठ वर्ष अघि भएको उक्त घटनाको फैसला जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियुक्तहरूलाई जन्मकैद सजायको सुनाउनुभएको हो । अभियुक्तहरु दुवै हालसम्म फरार रहेको अदालतले जनाएको छ ।

आठ वर्षदेखि पेसी रोकिँदै आएको सो मुद्दा सप्तरी जिल्ला अदालतका १८ जना न्यायाधीशले हेरिसकेका थिए । पटकपटक पेसी चढे पनि गत माघ १६ गते मुद्दाको ६१औँ पटक पेसी सारेर फैसला हुन सकेको थिएन । जिल्ला अदालतले शिवानन्दलाई ०७४ साउन ४ गते रु २० हजार र विद्यानन्दलाई ०७४ असोज १ गते रु १५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो । जनकपुर उच्च अदालतको राजविराज इजलासले पनि ०७५ असार ७ गते उक्त आदेश सदर गरेपछि मृतकको छोरा बेचनले उक्त आदेशविरुद्ध ०७५ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । 

सर्वोच्च अदालतले मातहतका दुवै अदालतको आदेश बदर गर्दै ०७७ असार ५ गते दुवै आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकामा हालसम्म आरोपित दुवै फरार छन् । सिसौको रूखका हाँगा बेचनले घर ल्याएपछि विवाद बढ्दै कुटपिट हुँदा लाठी र फलामको रड प्रहारबाट ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको २०७१ चैत १९ गते मृत्यु भएको थियो । छोरा बेचनले घटनाकै दिन २०७२ वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा अभियोगपत्र दायर गर्नुभएको थियो । 

फैसलाका लागि मुद्दाका सबै अङ्ग पुगे पनि अस्वाभाविक ढिलाइले आर्थिक नोक्सानी र मानसिक तनाव झेलिरहनुभएका बेचनले फैसलाप्रति सन्तोष व्यक्त गर्नुभयो । अन्य आरोपितहरू शिवानन्दकी श्रीमती मञ्जुदेवी राय, विद्यानन्दकी श्रीमती विन्दुदेवी राय, उनीहरूका छोरा चन्दनकुमार राय, कान्छा देवर कामानन्द राय र उनकी श्रीमती रेणुदेवी रायले भने सफाइ पाएका छन् ।