फाइल तस्वीर
टर्की — टर्कीमा सोमबार बिहान गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङख्या चार हजारभन्दा बढी पुगेको छ । बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिक ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पका कारण हजारौं भवनहरु भत्किएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरे अनुसार भूकम्पका कारण टर्की र सोको दक्षिणी सीमा जोडिएको सिरियामा गरी मृत्यु हुनेको सङ्ख्या चार हजार तीनसय भन्दा बढी पुगेको छ । भूकम्पकै कारण १५ हजार जनाभन्दा बढी मानिस घाइते भएको समाचारमा उल्लेख छ ।

टर्कीको दक्षिणी क्षेत्र र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पमा परेकाहरुको उद्धारको काम सुरु गरेका हुन् ।

सो भूकम्पमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले विशेष टोली पठाएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले सो भूकम्पका कारण ज्यान गुमाएका परिवारहरुलाई समवेदना व्यक्त गर्दै आफू ती परिवारका सदस्यहरुको साथमा रहेको बताउनुभएको छ । उहाँले सबैभन्दा पहिला सो भूकम्पमा परी पुरिएकाहरुको उद्वारमा लाग्न संयुक्त राष्ट्रसङ्घीय उद्वार अधिकारीहरुलाई भन्नुभएको छ ।

उहाँले भूकम्पको क्षतिको आँकलनका साथै त्यसमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय र अधिकारीहरु त्यहाँ पुगेका जानकारी दिनुभएको छ ।अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयानुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७ दशमलव ९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएकोे छ ।

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा धेरैको मृत्यु भएको छ । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महशुस गरिएको थियो ।