फाइल तस्वीर
पोखरा — गण्डकी प्रदेशसभाको बैठक आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो ।

प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकामान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ ।

गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ ।