उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्य मन्त्री रहबर अन्सारी , फाइल तस्वीर


जनकपुरधाम — मधेस प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले उक्त प्रदेशको सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाएसँगै सरकारले पूर्णता पाउने भएको हो ।

मधेस प्रदेश सरकारमा माओवादी केन्द्रले कसलाई पठाउने भन्ने विषय अन्योल भैरहँदा सरकारले पूर्णता पाउन सकेको थिएन । माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाएसँगै आज सरकारले पूर्णता पाउने छ ।

माओवादी केन्द्रको तर्फबाट आज मन्त्री र राज्य मन्त्री सरकारमा जाँदै छन् । मधेस प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउन माओवादी केन्द्रले हिजो निर्णय गरेको मधेस प्रदेश संसदीय दलका नेता भारतप्रसाद साहले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको शपथग्रहण कार्यक्रम तय गरिएको छ । माओवादी केन्द्रबाट सुनिता यादव मन्त्री बनेपछि पहिलो पटक मधेस प्रदेश सरकारमा दुई जना महिला क्याबेनिट मन्त्री हुने छन् ।

सुनिता जनयुद्धकालीन शहिद रामवृक्ष यादवकी कान्छी छोरी हुन्। रामवृक्षको माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेको थियो। सुनिताको परिवारमा दाजु शेखर यादव तथा श्रीमान डम्बर यादवले सहादत प्राप्त गरेका थिए।

सुनिता यादव माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन् भने राज्यमन्त्रीमा नियुक्त रहबर अन्सारी वैकल्पिक केन्द्रीय सदस्य हुन् ।