फाइल तस्वीर
राँझा — बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले थारू साहित्यमा युवाको आकर्षण बढाउन, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखन गरी इतिहास अभिलेख गर्न जोड दिएको हो ।

प्रत्येक वर्ष आयोजना गरिने राष्ट्रिय थारू साहित्य सम्मेलनले एक किसिमको जागरण ल्याउने काम गरिरहेको आयोजक थारू लेखक सङ्घका अध्यक्ष डा कृष्णराज सर्वाहारीले जानकारी दिनुभयो ।

एक दशकअघि प्रकाशन भएका थारू भाषाका पुस्तक र पछिल्लो समय प्रकाशन भइरहेका पुस्तकमा भाषा लेखनमा सुधार आइरहेको उल्लेख गर्दै उहाँले देशको जुनसुकै कुनामा थारू साहित्य सम्मेलन गरिए पनि त्यहाँका युवा साहित्यकारलाई सशक्त बनाउनुका साथै भाषिक जागरण ल्याउने काम गरिरहेको जिकिर गर्नुभयो ।

उहाँका अनुसार सम्मेलनमा थारू भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारू साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गरिएको छ । थारू राष्ट्रिय साहित्य सम्मेलनमा साहित्यमात्रै नभई विकास र जनजीविकाको अवस्थाको बारेमा बहस भएको थियो ।

थारू समुदायको कला संस्कृतिको खोज, अनुसन्धान तथा इतिहासबारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारू लेखक सङ्घले प्रत्येक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय सम्मेलनले विस्तारै मूर्तरुप लिँदै गएको थारू लेखक सङ्घका केन्द्रीय सदस्य शेखर दहितले बताउनुभयो ।

सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलनमा छवटा विविध विषयमा छलफल, बहस गरिएको थियो । राप्ती सोनारीको विकासका लागि प्राथमिकता, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा विकासमा वरघर, होमस्टेमा थारू समुदाय, आख्यानमा थारू, बाँकेमा थारू साहित्यको अवस्था, थारू साहित्यमा युवा र सिकलसेल एनिमियाको कहरः जनस्वास्थ्यमा प्रतिकूल असरबारे विषयगत सम्बन्धित व्यक्तित्वलाई समूह बनाएर घनिभूत छलफल गरिएको थियो ।

बहसमा पत्रकार विमला चौधरी, लेखक तथा थारू कला संस्कृति खोज अनुसन्धानकर्ता शेखर दहित, सञ्चारकर्मी तथा बरघर अभियन्ता एकराज चौधरी, सञ्चारकर्मी तथा साहित्यकार नवीन अभिलाषी, साहित्यकार सागर गैरे, लेखिका बालिका चौधरी, सिकलसेल एनिमिया रोकथामका अभियान्ता प्रभुराम चौधरी, युवा साहित्यकार भूमिका थारूलगायतले सहजकर्ताको भूमिका निभाएको सङ्घका केन्द्रीय सदस्य सोम डेमनडौराले जानकारी दिनुभयो ।

यस वर्ष थारू भाषाका नयाँ पुस्तक धेरै नभए पनि लक्ष्मी रानाले लेखेको सोरठ र गणेश वर्तमानले लेखेको ट्वाना उपन्यास र थारू क्यालेण्डर विमोचन गरिएको थियो । सम्मेलनमा कथा सङ्ग्रह सोरठ लेखिका लक्ष्मी रानालाई रु २५ हजार २५ नगदसहित सम्मान गरिएको थियो भने थारूको जनजीवनमा कलम चलाउँदै आएकी साहित्यकार किरण आचार्यलाई कदरपत्रले सम्मान गरिएको थियो ।

सम्मेलनमा पूर्व सुनसरी, मोरङबाट सुदूरपश्चिमको कञ्चनपुरलगायतका जिल्लाबाट झण्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूको सहभागिता थियो ।