साङ्केतिक तस्वीर
अनकारा — टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ म्याग्निच्युटको भूकम्प गएर हो ।

अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा थियो । गाजिएनटेप नजिकै रहेको यो क्षेत्रमा लगभग २० लाख जनसङ्ख्या छ, जसमध्ये अधिकांश सिरियाली शरणार्थीहरू रहेकाछन् । भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

जर्मन रिसर्च सेन्टर अफ जियोसाइन्सेसलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले ७ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको बताएको छ । जीएफजीका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटरमात्रै तल रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले यसलाई ७ दशमलव ९ म्याग्निच्युडको भूकम्पको गएको भनेको छ । टर्कीको सरकारी सञ्चार माध्यम टीआरटीका अनुसार भूकम्पपछि मानिसहरु घरबाट बाहिर निस्केर सडकमा भेला भएका छन् । एकजना प्रत्यक्षदर्शीले रोयटर्सलाई भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुस भएको बताए ।