काठमाडौं — चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले ७१ अर्ब भन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार २० वटा जीवन बिमा कम्पनीहरुले कुल ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बिमा शुल्क आम्दानी गरेको छ । सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसनले ८ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब ६८ करोड ६९ लाख रुपैयाँ र राष्ट्रिय बिमा संस्थानले ६ अर्ब १४ करोड ५० लाख रुपैयाँ बिमा शुल्क आर्जन गर्न सफल भएका छन् ।