फाइल तस्वीर
काठमाडौं — नेपाल सरकारको पहिलो अर्थ सचिव, नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको आज बिहान निधन भयो । स्वास्थ्यमा समस्या आएपछि राणालाई केही दिनदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको ९५ को उमेरमा निधन भएको हो ।

नेपालको आर्थिक प्रशासनलाई आधुनिकीकरण गर्नेकाम गरेका राणालाई नेपाली बैंकिङ जगतकै एउटा धरोहरको रुपमा लिने गर्दछ । नेपाली नोटमा पहिलो हस्ताक्षर गर्ने अवसर पाएका नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर राणा अब इतिहासको पानामा समेटिनुभएको छ । अर्थ सचिव हुँदा नेपालको चार वटा बजेट बनाउनु भएका राणा सहित रामप्रसाद जोशी, कृष्णप्रसाद धिताल, शेषराज दली, चुडानन्द लगायतका विज्ञहरु मिलेर बजेटलाई प्रभावकारी बनाउन आर्थिक नियमावली समेत बनाउनुभएको थियो ।

विक्रम सम्बत् २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिवका रूपमा अर्थ मन्त्रालय सम्हालेका राणा विक्रम सम्बत् २०१३ वैशाखदेखि २०१७ माघसम्म राष्ट्र बैंकको गभर्नरका रूपमा कार्य गर्नुभयो । उहाँ गभर्नर हुँदा नेपालको अर्थव्यवस्थालाई सुधार गर्ने कामहरू गर्नुभएको थियो । उहाँले गर्नुभएको महत्त्वपूर्ण काममध्ये एक हो नेपालको तराई क्षेत्रमा नेपाली पैसा लागू गर्नु । त्यसअघि तराईमा भारतीय मुद्रा मात्र चल्थ्यो ।

हिमालय समशेर जबरा २९ वर्षको उमेरमा मासिक ८ सय तलब खानेगरी नेपाल राष्ट्र बैङ्कको गभर्नर बन्नुभएको थियो । लेफ्टिनेन्ट जनरल लक्ष्मण समशेर र माता जगतकुमारी राणाको दोस्रो सन्ताको रुपमा विक्रम सम्बत् १९८४ सालमा काठमाडौंको थापाथलीमा जन्मिनु भएका राणा मुलुकमा प्रजातन्त्र स्थापना होस् भन्ने चाहेर २००७ सालको क्रान्तिमा तत्कालीन विद्रोही नेपाली काङग्रेसलाई समर्थन गर्नुभएको थियो ।

सेवा निवृत्त भएपछि पनि वित्तीय क्षेत्रमा सक्रिय रहँदै आउनुभएका राणाले निजी क्षेत्रमा हिमालयन बैंक स्थापना गर्नुभयो । उहाँकै सक्रियतामा २०५० सालमा पाकिस्तानको हबिव बैंकसगँ सहकार्य गरेर नेपालमा निजी क्षेत्रको पहिलो कर्मसियल बैङ्कको रुपमा हिमालयन बैंक स्थापना गर्नुभएको हो । नोट विस्तारदेखि राष्ट्र बैंकको स्थापना र तराईलाई नेपाली अर्थतन्त्रसँग जोडुदै वित्तीय विकासमा राणा महत्वपूर्ण भूमिका उल्लेखनीय रहन पुग्यो । राणाको निधनसगैं देशले वित्तीय क्षेत्रको एउटा अर्थविद् गुमाएको मात्र छैन, वित्तीय क्षेत्र एउटा युगको समेत अन्त्य हुन पुगेको छ ।