फाइल तस्वीर
इस्लामावाद — पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । पूर्वराष्ट्रपति मुसर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा उपचारको क्रममा ७९ वर्षको उमेरमा निधन भएको होे ।

पूर्वसैनिक जनरल तथा राष्ट्रपति मुसर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ । मुसर्रफ सन् २०१६ देखि उपचारका लागि निर्वास जीवन विताउँदै दुबईमा बस्दै आउनुभएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुसर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो निजी वकिलमार्फत् पाकिस्तानी सरकारलाई निवेदन दिनुभएको थियो । ’द एक्सप्रेस ट्रिब्यून’ पत्रिकाका अनुसार पूर्व राष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहनुहुन्थ्यो ।

मुसर्रफ सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि पाकिस्तानका दशौं राष्ट्रपति हुनुभएको थियो । पूर्व राष्ट्रपति मुसर्रफले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चिफ अफ स्टाफ कमिटी (सीजेसीएससी) को १० औं अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौं शीर्ष जनरलको रूपमा काम गर्नुभएको थियो । रासस÷सिन्ह्वा