तनहुँ — जिल्ला हुलाक कार्यालय तनहुँबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

सो कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका लागि हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता रहेकाले सहजरूपमा टिकट खरिदको व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । “प्रशासन कार्यालयमा काम परेर आउने सेवाग्राहीले टिकट किन्न हुलाकसम्म जानुपर्ने बाध्यता थियो, कतिपयलाई ठाउँ नयाँ हुँदा अलमल हुनसक्छ”, उहाँले भन्नुभयो, “प्रशासन कार्यालयमै हुलाक टिकटको व्यवस्था गरिएपछि सेवाग्राहीलाई सहज हुन्छ ।”

यसअघि हुलाक कार्यालयका अतिरिक्त प्रशासन कार्यालयका आसपासका स्टेशनरी पसलबाट समेत हुलाक टिकट बिक्री हुँदै आएको थियो । तर मूल्यमा असमानता हुँदा सेवाग्राही ठगिएपछि हुलाकले अरुलाई टिकट बिक्री गर्न रोक लगाएको थियो । आजदेखि जिल्ला प्रशासन कार्यालयबाट टिकट बिक्री वितरणको सेवा दिने व्यवस्था मिलाइएको हुलाक अधिकृत मित्रलाल भट्टराईले जानकारी दिनुभयो । साथै अङ्कित मूल्यमा नै टिकट खरिद गर्नुहुन र सोभन्दा बढी मूल्य लिएमा सोको जानकारी कार्यालयमा गराउन उहाँले आग्रह गर्नुभयो ।

कार्यालयले सीमित कर्मचारी र स्रोतसाधनका बाबजुद गत साउनदेखि बिहान ९ः३० बाट टिकट बिक्री वितरणको व्यवस्था मिलाउँदै आएको छ । कार्यालयले गत आर्थिक वर्षमा दुई लाख दुई हजार पाँच सय ५० थान टिकट बिक्री गरेको थियो । हुलाक कार्यालयले तनहँुबाट प्रकाशित हुने सातवटा दैनिक, पाँचवटा साप्ताहिक र सातवटा एफएम रेडियोलाई नेपाल सरकारको लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी गर्दै आएको छ ।

जिल्लामा एउटा जिल्ला हुलाक कार्यालय, १४ वटा इलाका हुलाक कार्यालय र ३७ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह हुँदै आएको छ । चिठ्ठीपत्रको दर्ता चलानी र ढुवानीको सेवाबाहेक जिल्ला हुलाक कार्यालयले द्रुत डाँक सेवा, जिल्लामा सञ्चालित केबल टेलिभिजनको इजाजत नवीकरण तथा रोयल्टी लिने सेवा, पाँच सय वाट क्षमतासम्मका एफएम रेडियोको इजाजत नवीकरण रोयल्टी लिने कार्य पनि गर्दै आएको छ ।

यसैगरी टिकट बिक्री, पत्रपत्रिका दर्ता तथा नवीकरण, प्रेस प्रतिनिधिको प्रमाणपत्रको नवीकरण, जिल्लास्थित सञ्चारगृहले लोककल्याणकारी विज्ञापन प्रकाशन गरे नगरेको यकिन गरी भुक्तानी दिने कार्य, जिल्लाभरका सार्वजनिक निकायको सूचना अधिकारीको विवरण सङ्कलन, अद्यावधिक गर्ने र प्रकाशन गर्ने काम तथा जिल्लाका सार्वजनिक निकायले त्रैमासिकरूपमा प्रकाशन गर्नुपर्ने सूचना प्रकाशित गरे÷नगरेको बारेमा पनि अनुगमन गर्दै आएको छ ।

ठूलो राशिको भलिबल प्रतियोगिता हुने

तनहुँमा ठूलो राशिको भलिबल प्रतियोगिता हुने भएको छ । सर्वाधिक राशिको फुटबल प्रतियोगिता आयोजना हुँदै आए पनि जिल्लामा भलिबलका खेल निकै कम मात्रामा हुने गरेको छ । तनहुँको भिमादमा वडा मिश्रित खुला भलिबल प्रतियोगिता हुन लागेको हो । तेस्रो भिमाद महोत्सवको अवसर पारेर भलिबल प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक उज्ज्वल खनालले जानकारी दिनुभयो ।

यही माघ १९ देखि भिमाद रङ्गशालामा तेस्रो भिमाद महोत्सव सुरु भएको छ । भलिबल प्रतियोगिता भने माघ २३ गतेबाट सुरु हुनेछ । भलिबलमा प्रथम हुनेलाई नगद रु एक लाख ५५ हजार पाँच सय ५५ र दोस्रो हुनेलाई रु ७५ हजार पाँच सय ५५ नगद प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, लिफ्टर र स्पाइकरलाई पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

खेलाडी वडास्तरी हुनुपर्ने र बाहिरी खेलाडी बढीमा तीन जना समावेश गर्न पाइने नियम बनाइएको छ । खेलमा प्रोटेस्ट नियम लागू हुने र प्रोटेस्ट शुल्क रु तीन हजार लाग्ने जनाइएको छ । महोत्सव माघ २९ गतेसम्म सञ्चालन हुनेछ । भिमाद नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष हस्तबहादुर खड्काले महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । महोत्सवमा एक सय ८० ‘स्टल’ राखिएको छ ।

महोत्सवमा स्थानीय कला र संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि सांस्कृतिक कार्यक्रम तथा स्थानीय कृषि उपज प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने र रु पाँच करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट बचेको रकम भिमाद बजार क्षेत्रमा सिसी क्यामरा जडानमा खर्च गरिने महोत्सवका प्रवक्ता गोपाल पराजुलीले जानकारी दिनुभयो ।