पत्रपत्रिकाबाट

काठमाडौं – राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने/नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ ।

मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । नेकपा (माओवादी केन्द्र)की नेतृसमेत रहेकी अर्यालले सत्ता पक्षबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रले दाबेदारी दिने सहमति भएबमोजिम आइतबार आफूले उम्मेदवारी दिने जानकारी दिइन् । लामो समयसम्म नेकपा (एमाले)मा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकी थिइन् ।

राष्ट्रिय सभामा उहाँ मधेश प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको हो । सत्तारूढ दलहरू नेकपा (एमाले)का १६, नेकपा (माओवादी केन्द्र)का १५ गरी ३१ जना राष्ट्रिय सभा सदस्य छन् ।

उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । सत्ताबाहिरका नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टी नेपालका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् । रिक्त एक पदको उपनिर्वाचन यही माघ २५ गते हुनेछ । (आजको गोरखापत्र दैनिकबाट)