ढाका — बङ्गलादेशको ढाकामा भएको साफ यू २० महिला च्याम्पियनसिपको फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल घरेलु टोली आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा शुक्रबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।


बङ्गलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले समान एक/एक गोल गरिन् । यता नेपालका लागि भने मनमाया दमाईले एक गोल फर्काइन् । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भूटानको सहभागिता रहेको छ । च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भोलि आइतबार भूटानसँग खेल्नेछ । सोही दिनको अर्को खेलमा बङ्गलादेश र भारत भिड्नेछन् ।

चार टोली सहभागी च्याम्पियनसिपको शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।