फाइल तस्वीर
काठमाडौं — यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षणमा सुरु हुने भएको छ । प्रतियोगितालाई लक्षित गर्दै बन्द प्रशिक्षण सञ्चालन गर्न लागिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

यू–१७ महिला च्याम्पियनसिप फुटबलको लागि २८ जना खेलाडी बन्द प्रशिक्षणमा बोलाइएको छ । यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि पहिलो चरणमा टोलीकी मुख्य प्रशिक्षक भगवती राना मगरले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनु भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

प्रशिक्षक भगवतीको नेतृत्वमा नेपाली यू–१५ राष्ट्रिय महिला टोलीले गत नोभेम्बरमा बङ्गलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो ।

त्यसबेला नेपाललाई उपाधि दिलाउँदाका नायक गोलकिपर सुजाता तामाङ र फरवार्ड वर्षा ओलीसँगै यू–१५ टमकै कप्तान दिपा रोकाय पनि यू–१७ महिला टिममा छन् । त्यसबेला टिममा रहेका १६ खेलाडी अहिले पनि प्रारम्भिक टिममा समावेश छन् ।

यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप आगामी २० मार्च देखि ३१ सम्म बङ्गलादेशमा आयोजना हुँदैछ । यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एन्फाले यू–१७ च्याम्पियनसिपका लागि खेलाडी छान्न जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ मा एन्फा कम्प्लेक्समा खुल्ला छनोट गरेको थियो । बन्द प्रशिक्षणका लागि बोलाइएका २८ खेलाडीहरुमा गोलकिपरमा सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली), करुणा बुढाथोकी (बारा) रहेका छन् ।

यसैगरी डिफेन्डरमा अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेरणा डोल्मा लामा (सर्लाली), दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा) भने मिडफिल्डर रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकास कुमारी चौधरी (कैलाली), सुमी हाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) पुनम चेम्जोङ (पाँचथर) र फरवार्डतर्फ सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली), कविता गुरुङ (रौतहट) रहेका छन् ।