फाइल तस्वीर
विराटनगर — विराटनगर महानगरपालिकाका प्रमुख नागेस कोइराला र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनबीच भेटवार्ता भएको छ । उहाँहरुबीच विराटनगरको विकासलाई लिएर भेटवार्ता भएको हो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीसँग बिहीबार भएको शिष्टाचार भेटमा राजदूत थोम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गरेर बढ्न आफूले समन्वयकारी भूमिका खेल्ने बताउनुभयो ।

उहाँले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको प्रतिक्रिया दिँदै भन्नुभयो, ‘जति पनि मुलुकले विकास गरेका छन् ती मुलुकले शिक्षा र स्वास्थ्यमा सुधार गरेकै कारण विकास भएको हो ।’

उहाँले मानव बेखबिखन र ओसारपसारका सम्बन्धमा पनि जिज्ञासा राख्दै विराटनगर महानगरको न्यायिक समितिले गरेका कामकारबाहीप्रति चासो राख्नुभएको थियो । राजदूत थोम्सनले खुला सिमानाका कारण महानगरवासीले भोग्नुपरेका समस्या, मानव बेखविखनका बारेमा पनि जानकारी लिएको प्रमुख कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो ।

भेटमा महानगरका प्रमुख कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाउनुभयो । प्रमुख कोइरालाले केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबान समस्या रहेको जानकारी दिँदै दुवै खोलामा तटबन्धन निर्माणपछि मात्रै विराटनगरको डुबान समस्या समाधान हुने उनको भनाइ थियो । ‘महानगरको सीमित स्रोतले डुबान समस्याको दीर्घकालीन समाधान गर्न गाह्रो छ । डुबानको अस्थायी समाधान गर्नेतर्फ लागेका छौ’, उहाँले भन्नुभयो, ‘तर स्थायी समाधानका लागि ठूलो बजेट आवश्यक पर्छ । त्यसका लागि दातृ निकायसँग पहल गरिरहेका छौं ।’

विराटनगर प्रदेशको स्वास्थ्य र शिक्षाको केन्द्र रहेको उहाँले सुनाउँदै यस प्रदेशमा पर्यटनको प्रचूर सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशको पर्यटन विकासका लागि प्रादेशिक विमानस्थल बनाउनु जरुरी छ । यहाँबाट माउन्टेन फ्लाइट गर्दा काठमाडौंबाट भन्दा सस्तो पर्छ ।’ राजदूतावाससँगको सम्बन्ध प्रभावकारी बनाउन प्रमुख कोइरालाले महानगरका तर्फबाट सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी गराउँदै दूतावासका तर्फबाट पनि तोकिदिन आग्रह गर्नुभयो ।

उपप्रमुख कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराउँदै न्यायिक समितिले गरेका काम र अनुभव सुनाउनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विराटनगर महानगरको विकासका लागि चुनौती र अवसरका विषयमा प्रकाश पार्नुभएको थियो ।