फाइल तस्वीर
धरान — इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । नगर विकास कोषसँग सम्झौता भएसँगै इटहरी उपमहानगरपालिकामा बसपार्क निर्माण हुने भएको हो ।
तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ । कुल १६ करोड २२ लाख १८ हजार लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता भएको उपमहानगरपालिकका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौँका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बसपार्क निर्माणसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गर्नुभएको छ ।
प्रमुख पौडेलका अनुसार बसपार्क निर्माणमा कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लगानी हुनेछ । बसपार्क १८ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । पौडेलले इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ । बसपार्क व्यवस्थित हुँदा बीचमा बुकिङ काउन्टरसँगै व्यवस्थित प्रतिक्षालय रहनेछ ।