फाइल तस्वीर

गण्डकी– गण्डकी प्रदेशसभा बैठकले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले अध्यादेशलाई स्वीकृत गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो । आजको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पृथ्वीराजमार्गको पोखरा मुग्लिन सडकखण्ड निर्माण भइरहेको अवस्थामा बाटोमा पर्ने बिजुलीका पोलले समस्या पारेको भन्दै उक्त पोल चाँडो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य कुसुम बुढा पुनले मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र अवस्थामा रहेको र पटक–पटक म्याद थप हुने र काममा ढिलासुस्ती हुने गरेको जनगुनासो बढेको बताउनुभयो ।
यसैगरी सदस्य चम्पादेवी खड्का, जीतप्रकाश आले मगर, दोर्णकुमार कुँवर, फणिन्द्र देवकोटा, विकल शेरचन, विमला गौचन, सरस्वती अर्याल तिवारी र सुधीरकुमार पौडेलले समसामयिक विभिन्न विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य सरस्वती गुरुङले आफ्नै आम्दानीमा प्रदेश चल्ने किसिमको वातावरण निर्माणका लागि सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अर्का सदस्य जीतबहादुर शेरचनले प्रदेशमा उत्पादनमा जोड दिँदै समृद्धि हासिल गर्नेतर्फ लाग्नु जरुरी रहेको बताउनुभयो । यस्तै अर्का सदस्य महेश भट्टराईले जनचाहना अनुरूप आर्थिक समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विशेष समयमा सदस्य भक्तबहादुर कुँवरले नन्दप्रसाद न्यौपाने, सुशीला सिम्खडा, विन्दु अधिकारी पहाडी, भोजराज अर्याल, गणेशमान गुरुङ, दमयन्ती रुचाल र दिलमाया पौवीले पनि सरकारको ध्यान आकर्षण गराउनुभयो । गण्डकी प्रदेशसभाको अर्को बैठक भोलि दिनको १ बजे बस्नेछ ।