फाइल तस्वीर
काठमाडौं — नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रतिनिधिसभा सदस्यमा कैलाली निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित चौधरीलाई बाँके प्रहरीले आज बिहीबार दिउँसो पक्राउ गरेको हो ।

सांसद चौधरी गिरफ्तार भएको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले पुष्टि गरेका छन् । सांसद् चौधरी माथि सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगको मुद्दामा अदालतले दोषी ठहर गरेको थियो ।

कैलालीको गोराङ्गा खोलाबाट ढुङ्गा लिएर लम्कीतर्फ जाँदै गरेको ट्याक्टरमा २०६६ साल भदौ ३ गते आगजनी भएको थियो । ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध परेको उजुरीको मुद्दामा जिल्ला अदालत कैलालीले कैद र जरिवाना भराउने फैसला गरेको थियो । जिल्ला अदालतले सांसद चौधरीलाई ६ महिनाको कैद र ८ लाख १९ हजार रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो ।

ट्याक्टर धनी महादेव बजगाईँले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गर्दै मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको हो । त्यो फैसला कार्यान्वयन गर्दै सांसद् चौधरीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।